शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो। भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।
भेटमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले पुर्याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रसियाबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।
राजदूत भ्लादीमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताए। उनले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखे।









