सिरहाको गोलबजार–चोहर्वामा भएको हिन्दू–मुस्लिम विवादसँग सम्बन्धित घटनामा पक्राउ परेकाहरूको रिहाइ माग गर्दै स्थानीयवासी तथा हिन्दू सम्राट सेनाको सहभागितामा आन्दोलन सुरु भएको छ।
साउन १४ गते गोलबजार क्षेत्रमा भएको प्रदर्शन तथा झडपको पृष्ठभूमि सुनसरीको देवानगञ्जमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न तनावसँग जोडिएको थियो। उक्त घटनाको असर मधेसका विभिन्न क्षेत्रमा फैलिँदै गोलबजारसम्म पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो।
गोलबजारमा प्रदर्शनका क्रममा तोडफोड र आगजनीसमेत भएको थियो भने गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
घटनाका क्रममा चौहर्वा जामे मस्जिदसहित विभिन्न संरचनामा तोडफोड तथा आगजनी भएको थियो। प्रहरीको प्रारम्भिक मूल्यांकनअनुसार १८ वटा पसल तथा व्यावसायिक संरचना, १५ वटा निजी घर, २८ वटा सवारीसाधन तथा धार्मिक–शैक्षिक संरचनासहित ६४ वटा सम्पत्तिमा क्षति पुगेको थियो। कुल क्षति रु. ७४ करोड १३ लाख ९० हजार बराबर रहेको प्रहरीले जनाएको थियो।
घटनापछि प्रहरीले विभिन्न स्रोतबाट संकलन गरेका फोटो तथा भिडियोका आधारमा अनुसन्धान अघि बढाएको छ। पछिल्लो समय घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेपछि उनीहरूको रिहाइको माग उठेको हो।
एक स्थानीय स्रोतमा घटनामा संलग्न ४६ जनामाथि कारबाहीका लागि सूची तयार भएको दाबीसमेत गरिएको छ। यद्यपि उक्त संख्या र पक्राउसम्बन्धी विवरणलाई आधिकारिक रूपमा स्वतन्त्र पुष्टि गर्न सकिएको छैन।
पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, निर्दोषलाई फसाउन नहुने तथा वास्तविक दोषीमाथि मात्र कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेका छन्।
यस घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले समेत छुट्टै छानबिन समिति गठन गरेको थियो। समितिले घटनास्थलको निरीक्षण, प्रमाण संकलन तथा स्थानीय र विभिन्न समुदायका प्रतिनिधिसँग छलफल गरेको विवरण सार्वजनिक भएको छ।
गोलबजारमा पुनः आन्दोलन सुरु भएपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। विगतको घटनाबाट सिर्जित तनाव फेरि नबढोस् भन्दै प्रशासनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।









