हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनका लागि निर्वाचन मिति तोकिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो २ बजे सभापतिको निर्वाचन हुने मिति तोकेका हुन्।
भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै असोज ५ गते प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो। समितिमा अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सिता थपलिया सदस्य छन्।
समितिको कार्यकाल तीन महिना तोकिएको छ। समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन, हिमाली क्षेत्रको तापक्रम, हिमनदी, हिमताल तथा जलाधार क्षेत्रमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमको समीक्षा गर्ने जिम्मेवारी तोकिएको छ।
भोटेकोशी–त्रिशूली विपद्को वैज्ञानिक आधारमा अध्ययन गर्ने, विपद्को उत्पत्ति र जोखिमका कारकहरूको विश्लेषण गर्ने तथा सीमापार जलाधारको प्रभाव र तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्ने कार्यादेश समितिले पाएको छ।









