सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन्।

अदालतको अनुमति नलिई सरकारले ओली–लेखकलाई पक्राउ गर्न नमिल्ने उनले जिकिर समेत गरे।

आइतबार काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ओली र लेखकलाई पक्राउ गर्न सरकारले जरुरी पक्राउ पुर्जी जारी गरेर वदनियतपूर्ण गतिविधि गरेको आरोप समेत लगाए।

उनले जरुरी पक्राउ पूर्जी जारी गर्ने काम प्रमाण नै नष्ट गर्ने जस्ता जटिल अवस्थामा मात्रै हुने भए पनि सरकारले त्यसलाई सामान्य अवस्थामा प्रयोग गरेर गल्ती गरेको बताए।

उनले अगाडि भने, ‘डेमोक्रेसी भनेको रुल अफ ल हो। त्यसले स्वेच्छाचारितालाई प्रतिवन्धित गर्छ। कानुनको प्रयोग नगरी यदि गिरफ्तारी गरिन्छ भने त्यो स्वेच्छाचारी गिरफ्तारी हो। लोकतन्त्रमा राज्यले कसैलाई पनि स्वेच्छाचारी ढंगले गिरफ्तारी गर्न सक्दैन।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारले २३ भदौको घटनालाई मात्रै दोषी करार गर्ने गलत नियत राखेको दाबी समेत गरे।