मोरङ — इन्द्रपुर जेसिजद्वारा आयोजित अभिमुखिकरण तालिम कार्यक्रम शनिबार उत्साहपूर्ण वातावरणमा इन्द्रपुर जेसिज सचिवालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत इन्द्रपुर जेसिज र इन्द्रपुर जुनियर जेसिजमा गरी ५० जना नयाँ सदस्य औपचारिक रूपमा आबद्ध भएका छन्।

कार्यक्रममा इन्द्रपुर जेसिजमा ३० जना तथा इन्द्रपुर जुनियर जेसिजमा २० जना गरी कुल ५० जना युवाहरू सदस्यका रूपमा जोडिँदा संस्थामा नयाँ ऊर्जा र उत्साह थपिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता इन्द्रपुर जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी समिर बस्नेतले गरेका थिए । प्रमुख अतिथिका रूपमा पूर्व अध्यक्ष तथा वर्ष २०२६ का प्रमुख सल्लाहकार जेसी रोहित शाह रहेका थिए । उनले युवाहरूलाई नेतृत्व विकास, सामाजिक सेवामा सक्रिय सहभागिता र सकारात्मक परिवर्तनका लागि अग्रसर हुन प्रेरित गरेका थिए ।

कार्यक्रमका संयोजक जेसी निर्मल अधिकारी रहएका थिए भने कार्यक्रम सञ्चालन जेसी अजित बान्तवाले गरेका थिए । तालिममा इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष तथा नमुना माध्यमिक विद्यालयका प्राचार्य जेसी उत्सव थापा र नेपाल जेसिज वर्ष २०२६ का राष्ट्रिय अध्यक्षका सल्लाहकार जेसी कृष्ण प्रसाद ओझाले प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसैगरी, बोर्ड अफ ट्रस्टीजका अध्यक्ष जेसी यज्ञ प्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ सदस्यहरूलाई समाजसेवा र नेतृत्व विकासमा सक्रिय रहन आग्रह गरेका थिए ।

तालिमका क्रममा नवप्रवेशी सदस्यहरूलाई जेसिजको लक्ष्य, उद्देश्य, कार्यप्रणाली तथा नेतृत्व विकास, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका सदस्यहरू, पूर्व अध्यक्षहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप ऊर्जा र प्रेरणादायी बनेको आयोजकले जनाएको छ।

कार्यक्रमको समापनसँगै नवप्रवेशी सदस्यहरूले समाज विकास, नेतृत्व क्षमताको अभिवृद्धि तथा सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ सदस्यहरूको आगमनसँगै इन्द्रपुर जेसिज अझ सशक्त र गतिशील बन्ने विश्वास व्यक्त गरिएको छ।