नागढुंगा– मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ।
दुई वटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्तर्गत १२।२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्तर्गत ४३।५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ। जसमध्ये हाल सम्म करिब आधा अर्थात् २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले बताए।
उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरू मध्ये ८ वटा पुलहरूमा गाडी नै चल्न सुरु भइसकेका छन् भने यहि मसान्त सम्म बाँकी दुई वटा पुलहरूमा पनि गाडी चल्न सक्ने बनाइने छ।
बाँकी पाँच वटा पुलहरू आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फ पनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करिब ४४ प्रतिशत काम सम्पन्न भएको उनले बताए।
‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतिशत काम सम्पन्न भएको छ। दोस्रो प्याकेजको चाहिँ करिब ४३/४४ प्रतिशत भौतिक काम सकिएको छ। यस आयोजना अन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ। यसका कतिपय खण्डहरूमा छुट्टै क्लाइमिङ लेन भनेर तिन लेनको सडक हुनेछ जसमा उकालो तर्फ जाने सवारीहरू दुई लेनमा र ओरालो तर्फ झर्ने सवारीहरू एक लेनमा सञ्चालन हुनेछन्,’ उनले भने।
बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ। गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्ध स्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए। यद्यपि, अझै यसका केही कामहरू बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्ट बाट नै निर्माण सम्पन्न गरिसकेका छौँ र अबको बर्खामा चाहिँ यात्रुहरूले हिलो खेप्नुपर्ने छैन भने हिउँदमा पनि धुलो खेप्नु नपर्ने उनको भनाई छ।
‘गत वर्षको मनसुनमा यस सड्क खण्डमा भएको सवारी दुर्घटनाले निकै ठुलो क्षति पु¥याएको थियो। झ्याप्ले खोलमा भएको दुर्घटनामा ३५ जनाको ज्यान पनि गएको थियो। उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नकालागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रविधिहरू ल्याएर कामहरू अघि बढाएका छौँ। अबको दुई सता जतिमा उक्त क्षेत्रमा हामीले पुर्ननिमाणको काम सम्पन्न गर्ने छौँ। यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थानमा पनि पहिरो रोकथामका लागि तीव्र गतिमा काम भइरहेको छ।’