नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ।

झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ। जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्। स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए।

युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए। सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए।

त्यस्तै, काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो। त्यस क्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन्।

त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए।

त्यहाँको स्थिति अहिले पनि तनावग्रस्त छ। काठमाडौंबाट आउने भनिएका नेता रोकिएका छन्। एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायतका नेता विमानस्थलभित्रै छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेनजीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

582289234_1363467655445718_4281091874996632571_n-1763534434