नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चार गृह र पत्रकारहरूमाथि भएको धरपकड र पक्राउबारे छानबिन हुनुपर्ने बताएका छन्।
शनिवार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुन्ड्याउने गैह्र कानुनी धन्धा बन्द गरी पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन। यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ।
सञ्चार गृह अगाडि मोटर राखेर केही महिना अघि ‘आतङ्क’ सृजना गर्ने को थिए ? दोषी ‘पत्ता लगाएर’ सार्वजनिक गर्न सरकारले चाहेन। अहिले सञ्चार गृहभित्रै छिरेर पत्रकार पक्रिँदा प्रधानमन्त्री कार्यालयले भन्यो–‘गिरफ्तारीमा हामी संलग्न थिएनौँ’। प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अङ्गमाथि यस्ता हरकत हुँदा सरकार ‘सरकारका रूपमा’ देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सत्तारूढ पार्टीले ‘गिरफ्तारी गैह्र कानुनी’ भन्यो, समयमै भन्यो, सही भन्यो, ठिक छ। तर गैह्र कानुनी कर्मको निरन्तरता घटना होइन प्रवृत्ति बन्दै जाँदा प्रश्न उठ्छ (सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ ? अनि गिरफ्तारी गैह्र कानुनी भनिराखेर सरकार बनाउने पार्टीको दायित्व सकिन्छ कि त्यो भन्दा पर गैह्र कानुनी धन्धा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ र मान्छ पनि ?’ उनले प्रश्न गरे।
‘हामी स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा छौँ। गलत र भ्रमपूर्ण समाचार खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि छन् तिनको अनुसरण गरौँ। संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुन्ड्याउने गैह्र कानुनी धन्धा बन्द गरौँ पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस्,’ शर्माले विज्ञप्तिमार्फत भनेका छन्।












