पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी धरपकड र हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासङ्घको आह्वानमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले सरकारको रवैयाविरुद्ध नाराबाजी गर्दै विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए। वर्षा र झरीको प्रवाह नगरी सञ्चारकर्मीहरू प्रदर्शनमा सहभागी भएका थिए।

महासङ्घका अनुसार पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड र न्युजरूममा सरकारी तथा प्रहरी हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिका र दियोपोस्टको कार्यालयमा धरपकड गर्ने प्रयास गरेको थियो। सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डीएनए खबरका धीरज बस्नेत पक्राउ परेका थिए।

पक्राउ परेका पत्रकारको रिहाइका लागि महासङ्घका प्रतिनिधिसहित सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए। चौतर्फी विरोधपछि प्रहरीले तीनै जनालाई रिहा गरेको थियो।

प्रदर्शनका क्रममा पत्रकारहरूले ‘विचौलिया–प्रधानमन्त्री–न्यायालय कनेक्सन छानबिन गर’, ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’ र ‘संसद्, इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।