राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो।
खेल रद्द भएसँगै दुवै टोलीले १/१ अङ्क बाँडेका छन्। अङ्क बाँडेसँगै लुम्बिनी ३ अङ्कसहित दोस्रो र समान ३ अङ्कसहित चितवन तेस्रोमा उक्लिएको छ।
आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ। वर्षा रोकिएमा ५/५ ओभरको भएपनि खेल गराउने क्यानले जनाएको छ।
एकमा हार र एकमा जित निकालेको सुदूरपश्चिम तेस्रो खेल खेल्दै छ। तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुवै खेलमा पराजित भएको थियो। हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अङ्कसहित कर्णाली याक्स शीर्ष स्थानमा छ। एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ।












