झापाको कमल गाउँपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ साबित्रा चोकमा शुक्रबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–८ का अन्दाजी २९ वर्षीय सागर तिम्सिनाको मृत्यु भएको हो।
शुक्रबार साँझ करिब ६ः५५ बजेतिर दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–००१४ प ६४८९ नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना. ६ ख ५२०२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका तिम्सिनालाई उपचारका लागि सुरुङ्गास्थित कनकाई नगर अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ७ः३० बजेतिर उनलाई मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालक धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिगहाका अन्दाजी २९ वर्षीय शिवशंकर महतो र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।












