गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो।
सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संस्थाले मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लङ्घन गरेको जनाएको छ।
साथै, संस्थाका पदाधिकारीहरूबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्य विपरीतका गतिविधि भएको पनि मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मङ्सिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो।
तर, पटक–पटक निर्देशन दिँदा समेत पालना नभएपछि संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले सूचना जारी भएपछि एनप्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने चेतावनी समेत दिएको छ। त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।












