धनकुटाको मूलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब ट्रक दुर्घटना भएको हो।
इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए।
दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन्।
घाइते दुवैलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। चालक चौधरीको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण ट्रक निकाल्न समस्या भइरहेको र ट्रकसँग सम्बन्धित व्यक्तिहरू आउँदै गरेको प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।












