सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ। 

केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए। 

एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ। परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ। 

निर्देशक ढकालका अनुसार पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक र प्रक्रियागत तयारी भइरहेको छ। परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिका विषयमा काम भइरहेको उनले बताए ।

पुरानो हुँदै गएको कोशी ब्यारेजमा सवारी चाप बढ्दै जाँदा प्रस्तावित नयाँ पुललाई पूर्वी नेपालको यातायात व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको छ।