देशभर विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्राप्त विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन्।
बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै मिति २०८३ असोज १३ र १४ गते साँझ १७ बजेदेखि बिहान ५ बजेसम्मको लागि हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जाने कान्तिलोकपथ सडक खण्ड रातको समयमा मात्र पूर्ण रूपमा अवरुद्ध गरिएको छ।
रोशी गाउँपालिका–९ पिनथली र रोशी गाउँपालिका–०८ गिम्धिबेसीस्थित वीपि राजमार्गमा पहिरो गएका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
कान्तिलोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ स्थित पाँदुर र तार्केमा पहिरो गएका कारण सडक पूर्णरूपमा बन्द रहेको छ। सोतीदेखि मान्बु जाने पुल अन्तर्गत आरुघाट गाउँपालिका–२, ३ र ९ स्थित नयाँपुलमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जोमसोम–कोरला सडक खण्ड अन्तर्गत घरपझोङ गाउँपालिका वडा नं. ४ स्थित जोमसोम (पर्यटक चेकपोस्टबाट अन्दाजी १ कि.मि. अगाडि) पहिरो गएका कारण पूर्णरूपमा अवरुद्ध छ। कर्णाली राजमार्गअन्तर्गत बराहताल गाउँपालिका–७ औँलिसेमा पहिरो गएका कारण सडक पूर्ण रूपमा बन्द भएको छ।












