बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा विवाद हुँदा गोली चलेको छ। गोली लागेर एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन्।

नवनिर्मित भवनमा विद्युत्, खानेपानीलगायतका आधारभूत पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। भवन सञ्चालनका लागि आवश्यक सुविधा सुनिश्चित नगरी उद्घाटन गर्न लागिएको उनीहरूको आरोप छ।

यसै विषयलाई लिएर स्थानीय र गाउँपालिका नेतृत्वबीच विवाद सुरु भएको थियो। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको विरोधका बाबजुद जबर्जस्ती भवन उद्घाटन गर्न खोजेपछि विवाद थप चर्किएको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधिसमेत रहेका अध्यक्ष अन्सारी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए। पछि उनी रास्वपा प्रवेश गरेका हुन्।

विवादका क्रममा गोली चलेपछि फेटा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनापछि आक्रोशित स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेको बताइएको छ।

गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्।