जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन्।

यादवका अनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ। उनले गैरकानुनी रूपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरिन्।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरीत कवाडी व्यवसायीहरूमाथि हमला भएको छ’ उनले भनिन्।

उनले थपिन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। साथै गैरकानुनी हमलामा संलग्न अपराधीहरूलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौं।’

उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराइन्।