बाराको परवानीपुरमा तय भएको कार्यक्रममा जान लागेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई निषेध गरिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्। 

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एमालेलाई चुनावमा आउन आग्रह गर्दै वातावरण बनाउनुपर्ने बताएका हुन्।

'सिमरा घटना दुस्खद १ प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एकफेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं। मधेश प्रदेशमा सही कर्म गरेन त, त्यसविरुद्ध दबाब दिउँ। जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं,' उनले भनेका छन्।

साथै जोकोहीलाई पनि भ्रमण गर्ने अधिकार रहेको भन्दै उनले लेखेका छन्,'तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन। त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो।'

उनले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको 'समाज भ्रमण अधिकार' विरुद्ध उभिन नसक्ने पनि बताएका छन्। उनले अगाडि लेखेका छन्,'अत: सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं।'

एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जेनजी युवाहरूले प्रदर्शन गरेका छन्। त्यस क्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो। एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेनजी युवाहरूले प्रदर्शन गरेका हुन्।

जेनजी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ। बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन्।