मोरङ कारागार चलान भएका एक व्यक्तिको मृत्यु भएको छ।
बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का थुनुवा ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको हो।
जिल्ला कारागार मोरङका सूचना अधिकारी तुलसी पौडेलका अनुसार अभद्र व्यवहार मुद्दामा लिम्बू थुनामा थिए। अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले उनीविरुद्ध १० हजार रूपैयाँ धरौटी मागेको थियो। धरौटी तिर्न नसकेपछि उनी गत ४ भदौमा कारागार चलान भएका थिए।
उनको मुद्दा जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ।
सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति उनलाई कारागार प्रशासनले विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो।
पथरीशनिश्चरे नगरपालिका ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेका अनुसार लिम्बुमाथि झै-झगडा गरेका कारण अभद्र व्यवहार मुद्दा चलेको थियो। मृत्यु भएको खबर आएपछि परिवारलाई जानकारी गराइएको उनले बताए।
कात्तिक पहिलो साता मोरङ कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको थियो। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको थियो भने ७ कात्तिकमा सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो।
उनीहरू दुवैमा पनि शरीर सुनिने र सास फेर्न गाह्रो हुने समस्या थियो।




















