धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमाने–धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान करिब ८ः१५ बजे को १ ज २४९४ नम्बरको सुमो दुर्घटना भएको हो।
प्रहरीका अनुसार काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको सुमो ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ निवासी अन्दाजी ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा टोली खटिएको थियो। प्रहरीले घाइते १० जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ।
घाइते हुनेमा धनकुटा नगरपालिका–३ का २१ वर्षीय आशिष लिम्बू, चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई र उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, धनकुटा नगरपालिका–४ की ३३ वर्षीया पुनम लिम्बु, उनकी २ वर्षीया छोरी आरध्या लिम्बु घाइते भएका छन्।
त्यस्तै, धनकुटा नगरपालिका–४ का २६ वर्षीय आइन्द्र लिम्बु, वडा नं. ३ का २७ वर्षीय भवानी लिम्बु, वडा नं. ३ कै ४७ वर्षीय हेमबहादुर लिम्बु र वडा नं. ४ का ३० वर्षीय अबिन लिम्बु घाइते भएका छन्।
घाइते भएका सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको सुमो गाडी सडकसम्म निकाल्ने पहल भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।












