सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शनिबार साँझ बीपी चोकस्थित लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहार हुँदा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए।

गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको आइतबार बिहान शल्यक्रिया गरेर शरीरमा लागेको गोली निकालिएको छ। नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रञ्जिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार यादवको अवस्था मध्यम छ।

प्रहरीले यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको जनाएको छ। घटनापछि उनलाई उपचारका लागि विराटनगर ल्याइएको थियो। गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादव छन्।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा ५–६ जनाको संलग्नता पुष्टि भएको छ। तीमध्ये दुई जनालाई पक्राउ गरिएको छ। फरार रहेका अन्यको खोजी भइरहेको छ। 

निरज आफ्ना छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका थिए। लक्ष्मीनारायण मन्दिरनजिक पुगेपछि उनीहरूमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटनाको कारण भने युवतीको विषयमा केही दिनअघि भएको विवाद रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। युवतीको विषयलाई लिएर युवाहरूबीच विवाद भएपछि त्यसैको रिसइबीका कारण गोली प्रहार भएको हुन सक्ने प्रहरीको भनाइ छ।

तर, गोली प्रहार गाँजा तस्करीको विवादका कारण भएको हल्ला चलेको थियो। प्रहरीले अनुसन्धानका क्रममा अहिलेसम्म गाँजा वा अन्य कुनै वस्तुको तस्करीसँग घटनाको सम्बन्ध पुष्टि नभएको जनाएको छ।

गोली साना हतियारमा प्रयोग हुने प्रकृतिको देखिए पनि प्रयोग भएको हतियार र गोलीको प्रकृतिका बारेमा प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्दै घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।