रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २२३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको हो। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।
हालसम्म बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ।
यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३७२ जना व्यक्तिहरूलाई राखिएको छ ।












