उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ डाँडा गाउँका ५८ वर्षीय गन्दुराम राईले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा ४५ वर्षीया विमला राईलाई धारिलो हतियार हँसियाले गर्दनमा प्रहार गरेका थिए।
शनिवार मरणासन्न हुने गरी घाइते बनाएर आफैँ अस्थायी प्रहरी पोस्ट माडिबास पुगी जानकारी गराएको चापागाईँले जानकारी दिनुभयो।
घटनापछि प्रहरी टोलीले घाइते विमलालाई उद्धार गरी उपचारको लागि नगर अस्पताल बेल्टार पठाएकोमा उपचारको क्रममा गएराति १ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि गन्दुरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












