राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन्।

दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट आइतबार बिहान नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार दाहालविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। 

अदालतको अनुमतिपछि उनलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटवालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेपछि दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ। मोरङ प्रहरीले कानूनी प्रक्रिया पूरा गरी उनलाई आजै काठमाडौं पठाउने तयारी गरिरहेको जनाएको छ।

पछिल्लो समय दाहालले सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सार्वजनिक रूपमा आफ्ना धारणा राख्दै आएका थिए। विशेषगरी बालेन्द्र (बालेन) शाह सरकारका विषयमा उनले आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए।