नेपालको राजनीतिमा झापा जिल्ला सधैँ चर्चाको केन्द्रमा रहने गर्छ । तर, आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले झापालाई केवल चर्चामा मात्र सीमित राखेको छैन, यसलाई देशकै राजनीतिको ‘ईपिसेन्टर’ वा ‘हट केक’ बनाएको छ । झापा–५ मा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन्द्र शाह ९बालेन० बीचको सम्भावित र अप्रत्याशित टकरावले राष्ट्रिय राजनीति तताइरहँदा झापा–२ को चुनावी दृश्य पनि उत्तिकै पेचिलो र रोचक बनेको छ । यस क्षेत्रमा हिजोका दिनमा एउटै संसद्को उच्च ओहोदामा रहेर पालैपालो सदन चलाएका दुई प्रमुख पात्र— निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना— अहिले एक–अर्कालाई पराजित गर्न चुनावी मैदानमा आमनेसामने भएका छन् । एमालेका तर्फबाट घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट राना चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा–२ को भिडन्त ‘संसदीय पोडियम’ को लडाइँ जस्तै बनेको छ ।
२०७९ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष जोडबल र विश्वासका आधारमा देवराज घिमिरे सभामुख बनेका थिए । तर, उनको कार्यकाल विवादरहित भने रहन सकेन । विपक्षी दलहरूले उनलाई ‘सन्तुलित भूमिका निर्वाह गर्न नसकेको’ र पार्टीको छाया बनेको आरोप लगाउँदै आएका थिए । संसद् पुनस्र्थापनाको पक्षमा रहे पनि अन्त्यमा राजनीतिक समीकरण र ओलीको साथका कारण घिमिरे पुनः चुनावी दौडमा होमिएका छन् । तर, यो बाटो उनका लागि त्यति सहज देखिँदैन । स्थानीय पार्टी कमिटीले उनलाई यसपटक चुनाव नलड्न र नयाँ अनुहारलाई मौका दिन सुझाव दिएको थियो। विशेषगरी कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीलाई उम्मेदवार बनाउनुपर्ने माग बलियो थियो । तर, घिमिरेले स्थानीय भावनाभन्दा माथि उठेर टिकट हत्याए । अहिले उनै कार्की र अर्का मन्त्री तिलचन पाठक घिमिरेलाई जिताउने कमाण्डर बनेर खटिएका छन् । कार्कीका अनुसार १५ दिन अगाडि चुनाव भएको भए माहोल अर्कै हुन्थ्यो, तर अहिले संगठन पूर्ण रूपमा परिचालित भएकाले नतिजा आफ्नो पक्षमा आउने दाबी उनको छ ।
ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले उनलाई अविश्वासको प्रस्तावमार्फत हटाउने भरपूर प्रयास गरेको थियो । उपसभामुख हुँदा सत्तापक्षबाट निरन्तर दबाब झेलेकी रानाले यसपटक समानुपातिकको सुरक्षित बाटो त्यागेर प्रत्यक्षतर्फको जोखिमपूर्ण यात्रा रोजेकी छिन् । रास्वपाको संगठन झापा–२ मा तुलनात्मक रूपमा कमजोर मानिए पनि रानाको सामाजिक कार्यकर्ताको छवि र राष्ट्रिय स्तरमा आएको ‘बालेन लहर’ उनका लागि मुख्य हतियार बनेका छन् । बालेन शाहको रास्वपामा प्रेबश गरेसँगै राष्ट्रिय रूपमा परिवर्तनको पक्षमा देखिएको जनलहरले आफ्नो पक्षमा नतिजा ल्याउनेमा रास्वपाका नेताहरू ढुक्क देखिन्छन् । यो क्षेत्रमा संगठनका हिसाले एमाले सबै भन्दा बलियो मान्छि ।
नेपाली कांग्रेसले यसपटक झापा–२ मा नयाँ प्रयोग गरेको छ । प्रत्यक्षतर्फ सरिता प्रसाईलाई उम्मेदवार बनाएको कांग्रेसले समानुपातिकतर्फ पनि उमा सिवाकोटी र मनमाया विश्वकर्मा जस्ता महिला अनुहारलाई अघि सारेको छ । यसअघि समानुपातिकबाट सांसद र राज्यमन्त्री भइसकेकी प्रसाई पहिलो पटक प्रत्यक्ष निर्वाचनको कठिन अग्निपरीक्षामा छिन् । प्रसाईका लागि सबैभन्दा ठूलो चुनौती भनेको ‘पटक–पटक सांसद भएर के काम गर्नुभयोरु’ भन्ने विपक्षीको प्रश्न हो । तर, कांग्रेसका स्थानीय नेता नेत्र पौडेलका अनुसार, यसपटक पार्टीभित्रको परम्परागत ‘अन्तरघात’ कम हुने अपेक्षा छ । विगतका निर्वाचनमा कृष्ण सिटौला पक्षले असहयोग गर्ने गरेका आरोप लाग्ने गरे पनि यसपटक विश्वप्रकाश शर्माको प्रतिष्ठासँग पनि यो क्षेत्र जोडिएकाले कार्यकर्ता अनुशासित हुने विश्वास गरिएको छ । साथै, गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान र झापा–२ मा रहेको बलियो ‘कुमाई’ समुदायको मत ९प्रसाई स्वयं कुमाई हुन्० ले कांग्रेसलाई उत्साहित बनाएको छ । झापा–२ मा अर्जुनधारा नगरपालिका, विर्तामोडका मुख्य वडाहरू, बुद्धशान्ति र कन्काईका केही वडाहरू पर्दछन ्। यहाँको जनसांख्यिक बनोट र जातीय समीकरणले पनि चुनावी परिणामलाई प्रभावित पार्ने निश्चित छ ।
२०७९ को निर्वाचनको तथ्याङ्क हेर्दा घिमिरेले २८ हजार ७१६ मत ल्याएर जित्दा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४५५ मतका साथ कडा चुनौती दिएका थिए। त्यसबेला रास्वपाका रुद्रप्रसाद गिरीले मात्र ८ हजार ७८१ मत पाएका थिए। तर, अहिले समय बदलिएको छ। स्वागत नेपाल अहिले राप्रपाबाट आधिकारिक उम्मेदवार बनेर मैदानमा छन्, जसले एमाले र कांग्रेस दुवैको परम्परागत मत काट्ने निश्चित छ । नेकपाको तर्फबाट धर्मशिला चापागाईं उम्मेदवार छिन् । अघिल्लो निर्वाचनमा काग्रेसएकीकृत समाजादी सहितको मतमा माओवादीका हरि राना मगरले १३ हजार ९३० मत पाएका थिए । एमालेभित्र अग्नि खरेलको मौनता र आन्तरिक द्वन्द्व, कांग्रेसभित्रको गुटबन्दी र रास्वपाको कमजोर धरातलका बीच चुनावी नतिजा कसको पक्षमा जान्छ भन्न कठिन रहेको नेताहरु बताउछन् ।
चुनावी मैदानमा रहेका चारै प्रमुख उम्मेदवार अर्थात् घिमिरे, राना, प्रसाई र चापागाईंको व्यवस्थापकीय क्षमतामाथि पनि प्रश्न उठिरहेको स्थानीय बुद्धिजीवीहरूको बुझाइ छ । कांग्रेस र एमाले जस्ता पुराना दलहरूले आफ्ना असन्तुष्ट कार्यकर्ता र परिवारहरूलाई अझै पूर्ण रूपमा फकाउन सकेका छैनन् । यो क्षेत्र पहिला पनि कांग्रेसले जितेको इतिहास छ । पहिलो संविधानसभाको चुनावमा यहाँबाट सुधीर सिवाकोटीले जितेका थिए । सिवाकोटी अहिले कांग्रेसका केन्द्रीय सदस्य छन् । यो चुनाव हिजोका सभामुख र उपसभामुखको कार्यक्षमताको जनपरीक्षण पनि हो ।




















