झापाको भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर विमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित १ जना र कारोबारमा संलग्न २ जनालाई काठमाडौँ बुढानीलकण्ठ-६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ।
माघ १९ गते साँझ झापाको भद्रपुर विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
ब्राउन सुगरसहित पक्राउ परेकी रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोबारी समेत काठमाण्डौमा रहेको भनी बताए अनुसार लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ बुढानीलकण्ठ-६ स्थितबाट कारोबारमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्वार गाउँपालिका-५ का २१ वर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो।
ब्राउन सुगरसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ।




















