मोरङ । बेलबारीका स्रष्टा प्रकाश भट्टराईले आफ्नो पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह प्रकाशनमा ल्याएका छन्। कोसी साहित्य–कला परिषद् नेपाल प्रकाशक रहेको यो कृति बेलबारीका हालसालै एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो।  

कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेकी थिइन्। 

प्रमुख अतिथि प्राज्ञ सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाएकामा कृतिकार भट्टराईलाई बधाइ दिइन्। चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्षसमेत रहेकी सुवेदीले गीतले सबैको मन छुन सक्ने विचार व्यक्त गरिन्। साहित्यिक तथा सामाजिक व्यक्ति, वरिष्ठ साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु हुने अवसर पाएकामा गर्वबोध भएको विचार व्यक्त गरे।

624120099_1500847242043119_9074671888749014903_nकृतिका लेखक भट्टराईले निकै मेहनतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउँदै यस कार्यमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। साथै सभाध्यक्षको मन्तव्य राख्तै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै प्रकाश भट्टराई सार्वजनिक गर्न सकेकामा खुसीसमेत व्यक्त गरे।  

लोकार्पित कृतिमाथि प्रा.डा. भीम खतिवडा र कृष्ण उदाशीले समीक्षा प्रस्तुत गरेका थिए। कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै कवि तथा गीतकार उदाशीले प्रकाश भट्टराईले यस कृतिमार्फत गीत विधामा एउटा नयाँ मानकको सुरुआत गरेको बताए। राजमार्गको प्रसङ्ग कोट्याउँदै उनले भट्टराईको यस कृतिले गीतको नयाँ राजमार्ग निर्माण गरेको बताए। प्रा.डा. भीम खतिवडाले ‘गुनासो’ ले विविध पक्षलाई सम्बोधन गरेको बताए। नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेको खतिवडाले एउटा कृति बाहिर आउन ४ दशक लागेकामा लेखकसँग गुनासोसमेत व्यक्त गरे। उनले भने, ‘४० को दशकमा लेखिएका  गीतको सङ्ग्रह ५२ आउनुपर्थ्यो, ६२ मा आउनुपर्थ्यो। ८२ किन लाग्यो रु लेखकलाई यो हामी सबै पाठकको गुनासो रहेको छ।’ 

622720576_1500846552043188_4039368595581448314_nकार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एक एकओटा गीत गाएका थिए। संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो। 

उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायतका साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साहित्यका अतिरिक्त सामाजिक सङ्घसंस्थामा संलग्न व्यक्तित्वहरूको समेत उपस्थिति रहेको  उक्त कार्यक्रममा झापा, मोरङ, सुनसरीका स्रष्टा/कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। 

622814736_1500844025376774_7534699110650119661_n