रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। धान बोकेको ट्याक्टरसँग बस ठोक्किँदा मणिग्रामको शान्ति नमुना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन्।

आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा र ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन्।

नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर रुपन्देहीको ओमसतियामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख जनकबहादुर शाहीले बताएका छन्। 

बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। प्रहरीले बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।