मोरङ-४ स्थित बेतना सिमसार क्षेत्रमा आयोजित बिश्व सिमसार दिवस  कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य मा.गीता तिम्सिनाले बेतना सिमसारलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

सांसदले सिमसार संरक्षण केवल स्थानीय तहको मात्र नभई प्रदेश सरकार, संघीय सरकार तथा जनप्रतिनिधिहरू सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विकाससँगै प्रकृति संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको बताइन्।

सांसद तिम्सिनाले प्रदेशभर रहेका सिमसार क्षेत्रहरूको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माण गरी कार्यान्वयनको दिशामा अघि बढिरहेको जानकारी दिँदै बेतना सिमसार संरक्षणमा आफूले प्रदेश सभा सदस्य र स्थानीय बासिन्दाको हैसियतले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाइन्।

सांसद तिम्सिनाले जलवायु परिवर्तनका कारण प्राकृतिक वातावरणमा देखिएको प्रभावप्रति सबै गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै सिमसार जस्ता प्राकृतिक सम्पदाको संरक्षणले पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत पुग्ने बताइन्।

साथै सांसद तिम्सिनाले राजनीतिक गतिविधि बढिरहेका बेला विकास र संरक्षणका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै बेतना सिमसारको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन्।