सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।

मङ्गलबार फेरिचेमा एयर डाइनेस्टीको हेलिकप्टर (९एन–एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९एन–एजेआर) एकापसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।

समितिलाई दुर्घटनाको कारण र त्यसमा संलग्न कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। साथै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा उपाय र सुधारका सुझावसमेत समितिले सिफारिस गर्नेछ।