प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन्। सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे स्पष्ट पारेकी हुन्।

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन्।

प्रधानमन्त्रीका अनुसार, उनीहरूले मन्त्री बन्नुअघि नै राजनीतिमा लाग्ने बताएका थिए  सोही अनुसार, आफूले बिदा गरेर पठाएको उनको भनाइ छ।

‘नजानेहरू बसे, हामीलाई थाहा छ यसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन्। आए गए। अहिले सम्पर्क छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूले मात्रै चिया खाएर काम गरेका छन्।’

साथै, उनीहरूलाई दोष नलगाउन पनि प्रधानमन्त्री कार्कीको आग्रह थियो।

उनले थप प्रष्ट पार्दै भनिन्, ‘खासमा दोष लगाउने हो भने मलाई लगाउनुस्, उनीहरूलाई नलाउनुस्। किनभने मैले त्यतिखेर सरकार बनाउनैका लागि पनि भनेको थिए, जुन दिन तपाईंहरू जाने हो त्यो दिन बिदाइ गर्छु। तपाईंहरू जानुस् भनेको पनि हो। मलाई लाग्दैन कि उनीहरूले बेइमानी गरे भन्नु बेकार छ।’

नीहरूलाई त्यतिबेला मन्त्री बनाउन जेनजीहरूको ठूलो प्रेसर रहेको उनले बताइन्।

‘उनीहरूको आफ्नो जीवन हो, उनीहरूको उमेर छ, उनीहरूको आफ्नो संस्कार छ। त्यसकारण मैले आज खुलाएँ कि मैले नै वचन दिए। जेनजीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भने। आजसम्म उनीहरूको कुनै सम्पर्क मन्त्रिपरिषद्सँग छैन,’ प्रधानमन्त्री कार्कीको प्रष्टोक्ति छ।