राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्।
उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा जापानको टोकियोमा सोमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लगानीका लागि आग्रह गरेका हुन्। उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहने पनि बताए।
‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्वाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ’, राष्ट्रपति पौडेलले भने।
उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए।
उनले नेपालमा निर्धक्कसँग लगानी र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे। ‘नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ !’, राष्ट्रपति पौडेलले भने।
उदार आर्थिक नीतिको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानूनी, प्रक्रियागत तथा संस्थागत सुधार गरेको उनको भनाइ थियो।
विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्तालाई वृहत्तर फाइदा प्रदान गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।




















