१९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्। पोखरा रंगशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरी, घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुबै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाललाई भारतले १–० गोलले निरास बनाएको थियो। प्रतियोगिताको उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो।

त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहनेछ। बङ्गलादेश र भारतले भने एकरएक खेल जितेर समान तीन अङ्क जोडेका छन्।

प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन्। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ। जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन्।

प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।