मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले क्षेत्रको विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्। क्षेत्रीय भेटघाट तथा कार्यकर्ता भेलामा बोल्दै उनले अधुरा पूर्वाधार योजनाहरूलाई सम्पन्न गर्नु नै मुख्य दायित्व भएको उल्लेख गरे।

घिमिरेले नेताचौक देखि केरौनसम्मको करिब १४–१५ किलोमिटर सडक कालोपत्रे गर्न धेरै ठूलो बजेट आवश्यक नपर्ने उल्लेख गर्दै विगतमा पहल भए पनि योजना पूरा हुन नसकेको बताए। उनले संघीय र प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता जनाए।

उनले क्षेत्रका विद्युत् समस्या समाधानका लागि ट्रान्सफर्मर जडान तथा पोल विस्तारको काम समेत अघि बढाइएको जानकारी दिए। विकासका काममा जनप्रतिनिधिको ध्यान केन्द्रित हुनुपर्ने भन्दै उनले प्रदेश र स्थानीय तहले बजेट सही ठाउँमा विनियोजन गर्नुपर्ने धारणा राखे।

घिमिरेले धन्पालगढी र ग्रामथान क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिए। यसका लागि आवश्यक पूर्वाधार निर्माण, होमस्टे, संग्रहालय तथा वार्षिक मेला आयोजना गरी स्थानीय आर्थिक गतिविधि बढाउन सकिने उनले बताए।

त्यस्तै, गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्यलाई गति दिन पहल भइरहेको उल्लेख गर्दै उनले पर्याप्त बजेट विनियोजनपछि निर्माण प्रक्रिया अघि बढ्ने बताए।

घिमिरेले नेपाली कांग्रेस नयाँ नेतृत्व र रूपान्तरणको बाटोमा अघि बढेको दाबी गर्दै स्थिरता र विकासका लागि कांग्रेसलाई समर्थन गर्न मतदातासँग आग्रह गरे।