झापा निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार, राजनीतिक दल तथा उनीहरूसँग सम्बद्ध व्यक्तिहरूको सुरक्षासम्बन्धी कुनै पनि चिन्ता वा जोखिम देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

खड्काले सुरक्षामा कुनै प्रकारको कमजोरी हुन नदिइने स्पष्ट पार्दै क्षेत्र नम्बर ५ मा विशेष प्रहरी टोलीसमेत परिचालन भइसकेको जानकारी दिइन्। दमकमा आयोजित छलफलका क्रममा केही राजनीतिक दलका प्रतिनिधिले विगतमा हिंसात्मक गतिविधिमा संलग्न समूहहरू हाल निर्वाचन अभियानमा सक्रिय देखिएकाले सम्भावित जोखिमको आशंका व्यक्त गरेका थिए।

घरदैलो कार्यक्रम तथा चुनावी प्रचारका क्रममा असुरक्षाजन्य गतिविधि र सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति देखिन थालेपछि सुरक्षा विषयमा चासो बढेको थियो। सोही सन्दर्भमा प्रहरी प्रमुख खड्काले भरपर्दो सुरक्षा योजना कार्यान्वयनमा रहेकाले निश्चिन्त भएर निर्वाचन गतिविधि सञ्चालन गर्न आग्रह गरिन्।

उनका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार जिल्लाभर सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको छ। विशेषगरी झापा-५ राजनीतिक रूपमा चासोको केन्द्रमा रहेकाले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। निर्वाचन नजिकिँदै जाँदा सुरक्षाकर्मीको सडक उपस्थितिसमेत बढाइएको उनले बताइन्।

खड्काले निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन प्रहरी एक्लैले मात्र सम्भव नहुने उल्लेख गर्दै यसका लागि राजनीतिक दल, उम्मेदवार र सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

झापा-५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साह, नेपाली काँग्रेसकी नेतृ बसुन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी संग्रौला लगायत उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।