जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरुसँग के कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँले बताए। 

त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उलंघन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ। यदि कसैले अटेर गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।