विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपाका नेता राजेन्द्र राईले नेकपा एमालेमाथि विकास निर्माणको गलत हल्ला फैलाएको आरोप लगाउँदै कडा आक्रोश व्यक्त गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा भएका विकासका कामहरू एमाले सचिव एवं पूर्व मुख्यमन्त्री शेरधन राईले गरेको भनी भ्रम फैलाइएको भन्दै नेता राईले सामाजिक सञ्जालमार्फत तथ्यसहितको जवाफ फर्काएका हुन्। उनले एमालेलाई ‘भ्रमको खेती’ नगर्न र स्वस्थ प्रतिस्पर्धा गर्न चुनौती समेत दिएका छन्।
नेता राईले शेरधनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आफू निर्वाचित क्षेत्रमा ७२ किलोमिटर सडक कालोपत्रे हुँदै गर्दा शेरधनको क्षेत्रमा किन ४ किलोमिटर मात्र भयो भनी प्रश्न गरेका छन्। आफ्नो क्षेत्रमा विकास नगरेर अरूको क्षेत्रमा मात्र गरिदिने यस्तो मनकारी नेता कलियुगमा कोही नपाइने भन्दै उनले व्यङ्ग्य गरेका छन्। ८ वर्षअघि सुरु भएको आमचोक सडक हालसम्म लथालिङ्ग हुनु र आफ्नो कार्यकालमा जोशिडाँडा –साङपाङ –फालिबाटो जस्ता रणनीतिक सडकहरूका लागि बजेट सुनिश्चित हुनुले वास्तविक काम कसले गर्‍यो भन्ने प्रस्ट हुने उनको दाबी छ।
आफ्नो क्षेत्रमा ६ वटा पक्की पुल सुचारु भइसकेको र अरुण नदीको लम्सुवासहित १५ वटा झोलुङ्गे पुल बनेको तथ्याङ्क प्रस्तुत गर्दै उनले शेरधन राईको क्षेत्रमा किन कभर्ड हल र स्वास्थ्य भवनहरू बन्न सकेनन् भनी आश्चर्य प्रकट गरेका छन्। दिङ्लामा बहुउद्देश्यीय भवन र स्वास्थ्य भवनहरू बन्दा शेरधनको क्षेत्रमा भने एउटा स्कुलको हल बनाउन समेत जनतासँग चन्दा उठाउनु परेको भन्दै उनले विकासको असमान वितरणबारे तुलनात्मक विश्लेषण गरेका छन्।
राईले एमालेका सचिव एवं वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि गम्भीर आरोप लगाएका छन्। आफू मुख्यमन्त्री हुँदा ठेक्का प्रक्रियामा पुर्‍याएका भोजपुर र दिङ्लाका महत्त्वपूर्ण सडक आयोजनाहरू हिक्मत कार्कीले अर्थमन्त्रीको हैसियतमा रद्द गरिदिएको उनले पत्रसहित दाबी गरेका छन्। शेरधनले शक्तिशाली एकल सरकारको नेतृत्व गर्दै ४ वटा बजेट ल्याउने मौका पाउँदा पनि काम गर्न नसकेको तर आफूले ५ दलीय गठबन्धनको सरकारबाट एउटा मात्र बजेट ल्याउँदा पनि भोजपुरमा ऐतिहासिक काम गरेको दाबी राजेन्द्रको छ। शेरधन फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार छन् भने राजेन्द्र नेकपाका उम्मेदवार अजम्बर काङवाङका चुनावी कमाण्डर छन्।