फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले संगठनभित्र जनशक्ति व्यवस्थापनसम्बन्धी व्यवस्था कडा बनाएको छ।

निर्वाचन अवधिमा अधिकतम जनशक्ति परिचालन सुनिश्चित गर्न माघ १९ गतेदेखि संगठनका सबै निकायमा राजीनामा, रवाना तथा बिदासम्बन्धी प्रक्रिया स्थगित गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक परेकाले उक्त निर्णय लागू गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। यस अवधिमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्ने, अन्य कार्यालयमा जाने प्रयोजनका लागि रवाना नदिने र अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने व्यवस्था गरिएको छ।

यस सम्बन्धमा सशस्त्र प्रहरी बलका सबै कार्यालयहरूलाई परिपत्रमार्फत निर्देशन दिइएको छ।