नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात् अङ्ग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ। अङ्ग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन्।
तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ। मानिसहरूले चाडपर्व, विवाह, व्रतबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरूको अनुभव छ। 
असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आएका रोहित श्रेष्ठ टोपी दिवसलाई नै भनेर मानिसहरू टोपी किन्न नआउने गरेको बताउँछन्।
उनी भन्छन्, ‘म यो पसलको पाँचौ पुस्ता हुँ। सय वर्ष नै भइसक्यो यहाँ टोपी बेच्न लागेको। ढाका टोपीको माग पहिला भन्दा त धेरै नै घटेको हो। तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरूको लागि माग हुने गरेको छ। अलिक उमेर ढल्केकाहरूले कहिलेकाहीँ खोज्नुहुन्छ। युवाहरूले त सोध्नु नि हुँदैन,’उनी भन्छन्,‘टोपी दिवसकै लागि भनेर आउनेहरू चाहिँ एकदमै कम हुनुहुन्छ।’
रोल्पाका मनोजमणि आचार्य नेपालीहरूको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउँछन्। ‘नेपालसहित, भारत, भुटान, म्यानमारलगायत संसारभर भएका नेपाली भाषीहरूले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ। पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ। यसको मौलिकता छ। युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ। तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ’, उनले भने।  
वि.स.२०७० सालदेखि नेपालीहरूमा मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले  ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए। न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बुढा टोपी दिवस मनाउनुपर्ने बताउँछन्। उनी भन्छन्,‘ढाका टोपी दिवस मनाउनुपर्छ। यो हाम्रो पहिचान पनि हो। दौरा, सुरुवाल, टोपी त नेपालीहरूको पोसाक नै हो नि।’ 
असनमा नै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आएकी सबना बानु विदेशमा रहेका नपालीहरु र नेपाल घुम्न आएका विदेशीहरूले टोपी खोज्ने गरेको बताउँछिन्। ‘नेपालीहरूले मात्र नभई फरेनरहरुले पनि टोपी खोज्नु हुन्छ। पहिला नेपालीहरूले मात्रै टोपी लगाउने भन्ने थियो तर अहिले फरेनरहरुले धेरै नै खोज्नुहुन्छ,’उनी भन्छिन्,‘पहिला एक लाख जति व्यापार हुने गरेकोमा अहिले चार पाँच लाखसम्मको व्यापार हुन्छ। टर, ढाका टोपी मात्रैको भने यस्तो व्यापार छैन।’
बाउ बाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातिलाई सिकाउनका लागि भए पनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउँछन्। उनले भने, ‘नेपाली पहिचानको लागि टोपी लगाइहन्छु। नेपाली पहिचान झल्काउँछ। बाउ बाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो। यो त हाम्रो छोरा नातिलाई शुद्ध सिकाउनपर्छ।’