चितवनको इच्छाकामना गाउँपालिका–१, कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन बालबालिकाको मृत्यु भएको छ। नौ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनीता चेपाङको मृत्यु भएको हो। उनीहरू एउटै परिवारका सदस्य हुन्।

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार, यही जेठ १ गते घरमा नै नमुनाको मृत्यु भएको थियो। उपचारका क्रममा शनिबार (जेठ २) राति सञ्जयको मृत्यु भएको थियो। भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार (जेठ ५) बिहान ६ बजे मृत्यु भएको उनले जानकारी दिए।

गएको वैशाख २९ गते श्यामबहादुर चेपाङ परिवारका पाँचजनाले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका निम्ति भरतपुर अस्पतालमा ल्याइएको थियो।

नमुना कक्षा–२, सञ्जय ३ र मनीता ५ कक्षामा अध्ययनरत थिए। उनीहरूका बुवाआमा भने सकुशल छन्।