जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ–२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाह द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ कि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको छ। उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिए।
विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।”
सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको छ।
सुधन गुरुङ प्रकरणमा प्रश्न
विज्ञप्तिमा थप भनिएको छ : “साथै सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छ? छानबिन गर्न प्रहरी छ, सरकारी वकिल कार्यालय छ, राजस्व अनुसन्धान विभाग छ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। किन छुट्टै समिति चाहियो?”
जेनजी मुभमेन्ट नेपालले निम्न मागहरू गरेको छ:
१. गृह मन्त्रालय र नेपाल प्रहरीले सांसद कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको अभियोगमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाओस्।
२. राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरियोस्।
३. नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।
मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन र दोषीमाथि अविलम्ब कारबाहीको माग गर्दै शान्तिपूर्ण तर प्रमाणमा आधारित छानबिनको पक्षमा रहेको जनाएको छ।




















