नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको छ।
यो जितसँगै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले समान २२ अंक बनाएको नामिबियालाई रन रेटले पछाडि पारेको हो। २२ अंक जोडेको नेपालले २७ खेलमा १० जित र १५ हार व्यहोरेको छ।
टोलीको दुई खेल भने रद्द भएको थियो। नेपालले पाँचौँ स्थानमा उक्लने क्रममा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्ड प्रस्तुत गरेको १९५ रनको लक्ष्य ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय पारी खेले।
रोहितले ९८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले। इशानले ६१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। इशानले दोस्रो विकेटको निम्ति ओपनर कुशल भुर्तेलसँग १०४ रनको शतकीय साझेदारी गरे। ओपनर आशिफ शेखले २९ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २८ रन बनाए।
यी दुईले पहिलो विकेटको निम्ति ५८ रनको अर्धशतकीय साझेदारी गरेका थिए। स्कटल्याण्डका मार्क वाटले दुई विकेट लिए भने ब्रान्डन म्याकमुलेनले एक विकेट लिए। त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको स्कटल्याण्डले घरेलु टोलीविरुद्ध ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल खडा गरेको थियो।
स्कटल्याण्डका निम्ति ब्रान्डन म्याकमुलेनले ७३ रनको अर्धशतकीय पारी खेले। म्याकमुलेनले ४४ बलमा समान ६ चौका र छक्का प्रहार गरे । उनले तेस्रो विकेटको निम्ति कप्तान रिचि बेरिंगटनसँग ४२ रनको साझेदारी गरेका थिए। अविजित रहेका माइकल इंग्लिसले ५१ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे।
इंग्लिसले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। ओपनर जजर्म मुन्सीले २१ रन जोडे। मार्क वाटले २० रन बनाउँदा कप्तान रिचि बेरिंगटनसँग १२ रन बनाए। नेपालका निम्ति ललित राजवंशीले चार विकेट लिए। सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए।
पराजित स्कटल्याण्ड भने हारका बाबजुद ३८ अंकका साथ शीर्ष स्थानमा कायम छ। स्कटल्याण्डले ३१ खेलमा १६ जित र नौ हार व्यहोरेको छ। टोलीको ६ खेल भने रद्द भएको थियो।




















