रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १६ वर्षअघि सुरु गरिएको ३५९ किलोमिटर लामो सोती लोकमार्ग सडक निर्माणमा हालसम्म केवल करिब ५ प्रतिशत मात्रै भौतिक प्रगति हासिल गरेको बताएका हुन्।

उनले भने, ‘दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट सिमानासम्म जोड्ने ३५९ किलोमिटर सोती लोकमार्ग सडक १६ वर्ष भइसक्दा पनि भौतिक प्रगती पाँच प्रतिशत छ। १६ वर्ष अगाडि ३२ अर्ब लागत अनुमान गरिएको यो योजना आज २० अर्ब बढेर ५२ अर्ब पुगेको छ।’

सुरुवातमा ३२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको योजना ढिलाइका कारण अहिले २० अर्बले बढेर ५२ अर्ब रुपैयाँ पुगेको बताए।

‘प्रधानमन्त्रीले भनेको बढिकालीका रामारोसन, खप्तड जस्ता प्रमुख पर्यटकीय गन्तव्य जान सहज बन्ने छ। त्यति मात्र नभइ यो सडक निर्माण भइसकेपछि यस त्रिपक्षीय व्यापार सहज हुनेछ। समग्र सुदुरपश्चिमको आर्थिक क्रियाकलाप झन् बढेर जान्छ,’ उनले भने।

उनका अनुसार सोती लोकमार्ग निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक क्रियाकलाप अझ बढ्ने बताए।