परराष्ट्र मन्त्रालयले अमृत झालाई इरानले रिहा गरेको भन्ने गलत सूचना सम्प्रेषण गरेकोप्रति माफी मागेको छ । परराष्ट्रले सोमबार एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो ।

“इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमाप्रार्थी छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

केही दिनअघि परराष्ट्र मन्त्रालयले झालाई इरानले रिहा गरेको व्यहोरासहितको विज्ञप्ति जारी गरेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि सामाजि सञ्जालमार्फत झा रिहा भएको जनाएका थिए । तर, पछि झा रिहा नभएको जानकारी प्राप्त भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानको केश्म टापुमा इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो । अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनलाई बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।