राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको दाबी गर्दै एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित बनेका छन्।  

सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएको छ।

सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो खगेन्द्रको भएको जिकिरसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। 

अडियोमा उनले प्रयोग गरेका शब्दहरूले मर्यादित भाषाको सीमा नाघेको सुनिन्छ। यससँगै उनको चौतर्फी आलोचना भइरहेको छ। 

यो घटना सार्वजनिक भएसँगै सांसद सुनारले पदबाट राजीनामा दिनुपर्ने र उनीमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने आवाज समेत उठेको छ। विवादमा तानिएपछि सांसद सुनारले आफ्नो फोन ‘स्वीच अफ’ गरेका छन् भने सञ्चारकर्मीको सम्पर्कमा आउन चाहेका छैनन्।

यसअघि पनि प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षक (आईजीपी) सँगको विवाद, प्रस्तावित राजदूत नियुक्ति प्रकरणमा नाम मुछिनु र गाईसम्बन्धी विवादित अभिव्यक्तिका कारण उनी पटक-पटक चर्चा र आलोचनाको केन्द्रमा रहँदै आएका छन्।