भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवार खाना र खानेपानीबाट वञ्चित भएका छन्। उनीहरूलाई खाना उपलब्ध गराउँदै आएको शान्ति सेवा गृहले शुक्रबारदेखि सेवा बन्द गरेको हो। 

सरकारको दबाबमा संस्थाले खाना दिन छाडेको सुकुमवासीको आरोप छ। होल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमासँगै खाना र पानीसमेत रोकिएपछि बालबालिकासहितका परिवार भोकै बस्न बाध्य भएका छन्।

आश्रित दलमर्दन कामीका अनुसार बालबालिकालाई विद्यालय जानसमेत रोकिएको छ। सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म आफूहरू आश्रयस्थल नछाड्ने उनले बताएका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना जारी गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, वैकल्पिक आवासको टुंगो नलाग्दै खाना र पानीसमेत बन्द भएपछि त्यहाँ आश्रित परिवार थप समस्यामा परेका छन्।