दार्चुलाको असिगडा र भारतको धार्चुलास्थित छारछुम जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल सञ्चालनमा आएको छ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ७ गते नयाँदिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको ११० मिटर लामो दुई लेनको पुल सञ्चालनमा आएसँगै सीमावर्ती बासिन्दाले वर्षौंदेखि तुइन र ट्युबबाट नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ।

पुलले महाकाली नगरपालिका–८ को असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धार्चुला तहसिलको छारछुमलाई जोड्छ। पुल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा जनजीवन सहज हुने स्थानीयले बताएका छन्।

महाकाली नगरपालिका–८ दत्तुका महेश कार्कीले लामो समयदेखि प्रतीक्षा गरिएको पुल सञ्चालनमा आएसँगै पैदल र तुइनबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्ने बताए। तर पुल प्रयोगमा केही नियमले समस्या हुन सक्ने भन्दै मालिकार्जुनका व्यापारी गगनसिंह धामीले ती नियम पुनरावलोकन गर्नुपर्ने माग गरे।

पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार निर्धारित समयपछि पुल बन्द हुने भए पनि आकस्मिक अवस्थामा सवारीसाधन र यात्रुको आवतजावत रोकिने छैन।

स्थानीयले सीमावर्ती बासिन्दाको सुविधाका लागि पुल २४ सै घण्टा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।