वीरगन्ज १० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ।
होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा बिहीबार राति प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा क्यासिनो भित्र जुवा खेल्ने ९ जना र उनीहरूलाई जुवा खेलाउने ३ जना कर्मचारी रहेका छन्।
क्यासिनोभित्र अनाधिकृत रुपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।उक्त सूचनाको आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले क्यासिनोमा पुगेर छापा मारेको थियो।
त्यसक्रममा जुवा खेल्दै गरेको अवस्थामा पर्साको वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष यादव, २४ वर्षीय अनुराग कुमार, ४८ वर्षीय दिपक साह, पर्सागढी नगरपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैयाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौंको साँखुका ४० वर्षीय राजेश श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै, क्यासिनोका कर्मचारीहरु बैतडीकको दोगराकेदरा गाउँपालिकाका ५४ वर्षीय तिलक भट्ट,पर्साको वीरगन्जका ३७ वर्षअंय प्रभु तुरहा र सिरहाको धनगढीमाईका ४६ वर्षीय दिपमराज पराजुलीलाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ गरिएका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।












