मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।प्रहरी हिरासतमा रहेका अर्याललाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय लगिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार अर्याललाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र ९एमओयू० विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

समझदारीपत्र र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गरी देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरिएको ब्युरोको भनाइ छ।

यस प्रकरणमा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम गैरकानुनी रूपमा संकलन भएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने उद्देश्य राखेको प्रहरीको भनाइ छ।

ब्युरोका अनुसार काठमाडौं जिल्ला अदालतबाट गत मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनलाई बिहीबार पक्राउ गरिएको हो। अर्याल तत्कालीन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसमेत थिए।