१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेशले सफलता हात पारेको छ।

कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशमाथि ४–१ गोलको सजिलो जित हासिल गरेको हो।

कोशी प्रदेशले पहिलो हाफमै ३–० गोलको अग्रता लिएको थियो। कोशीको जितमा मिलन राईले दुई गोलको योगदान गरे।

खेल सुरु भएको १२औँ मिनेटमै मिलनले पहिलो गोल गरे। १४औँ मिनेटमा अमित बसराले टोलीको अग्रता दोब्बर बनाए।

निर्धारित समयको ३२औँ मिनेटमा मिलनले व्यक्तिगत रुपमा दोस्रो गोल गरे। खेलको ६३औँ मिनेटमा लुम्बिनी प्रदेशका लागि फागुराम थारुले एक गोल फर्काए।

यसैगरी, ६४औँ मिनेटमा सौरभ लिम्बुले कोशी प्रदेशका लागि चौथो गोल गरेका थिए।